प्रहरीले श्रीपेच लगाएर राजा बन्न खोज्नेलाई आपराधिक उपद्रो मुद्दा चलाउने  

प्रहरीले श्रीपेच लगाएर राजा बन्न खोज्नेलाई आपराधिक उपद्रो मुद्दा चलाउने  

श्रीपेच अगाडि राखिएको सिसाको सो केस मुड्कीले हानेर फुटाउन खोज्ने रुकुम पश्चिमका खिमबहादुर घर्ती पक्राउ परेका संग्राहलयका प्रमुख भेष नारायण दाहालले जानकारी दिए। 

शुक्रबार दिउँसो १ बजे संग्राहलय अवलोकनका लागि गएका घर्तीले सो केस फुटाउन थालेपछि नेपाली सेनाले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको दाहालले बताए।

‘श्रीपेच अगाडि राखिएको सिसाको सो केस मुड्कीले हानेर फुटाएपछि उनलाई सेनाले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएको छ,’दाहालले उकेरासँग भने,‘श्रीपेच भएको ठाउँमै उनले सिसा फुटाएका होइनन्।’

पक्राउ परेका २५ वर्षका घर्तीलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ।

२ वर्ष बहराइन बसेर आएको र बहराइनमा बस्दा पनि एक दुई वटा कुटपिटको घटना भएको बयान घर्तीले प्रहरीसमक्ष दिएको वृत्तका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।

‘हेर्दा मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिन्छ,’डिएसपी पौडेलले उकेरासँग भने,‘श्रीपेच लगाएर राजा बन्ने भनेर सिसा फोडेका रहेछन्।’

श्रीपेच लगाएर राजा बन्न खोजेको घर्तीले बताएका पौडेलले जानकारी दिए। ‘अहिलेको समयमा पनि श्रीपेच लगाएर राजा बन्ने भन्नु नै मानसिक सन्तुलन गुमेको देखिन्छ,’उनले भने,‘थप अनुशन्धान  अहिले भइरहेको छ।’ घर्तीलाई आपराधिक उपद्रो मुद्दा चलाउने तयारी गरिएको पौडेलले बताए।

असोज ८, २०७८ शुक्रबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।