नक्कली भनिएका अपहरण मुद्दाका प्रतिवादीविरुद्ध सरकारी वकिलले पुनरावेदन गर्ने
काठमाडौंः जिल्ला अदालत काठमाडाैंबाट अपहरण मुद्दामा सफाई पाएका दुर्गाबहादुर बुढाथोकीविरुद्ध सरकारी वकिलले पुनारावेदन गर्ने भएका छन्। काठमाडौंका जिल्ला न्यायाधिवक्ता गंगाप्रसाद पौडेलका अनुसार पूर्ण फैसला आएपछि सरकारी वकिल दुर्गाबहादुरविरुद्ध पुनारावेदनमा जाने भएका हुन्।
‘पूर्ण फैसला आएको ७० दिनभित्र पुनारावेदनमा जान पाउँछौँ,’ उनले भने, ‘फैसला आएपछि मुद्दा त पुनारावेदन हुन्छ। हामी उच्च अदालत जान्छौँ।’
एक व्यवसायीको अपहरण गरी एक करोड ५० लाख फिरौती लिएको घटनामा संलग्न रहेका बुढाथोकीलाई व्यूराेबाट अपराध अनुसन्धान तथा रोकथामका लागि परिचालित प्रहरी टोलीले ०७७ साल पुष १४ गते पक्राउ गरेकाे थियाे। उनलाई इलामको पशुपतिनगरबाट पक्राउ गरेको प्रहरीकाे विज्ञप्तिमा उल्लेख थियो।
तर असोज ५ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले उनलाई सफाई दिए। फैसलाको पूर्णपाठ आइसकेको छैन। उनको संक्षिप्त फैसलामा सफाई दिनुको २ कारण उल्लेख छः
१. जसलाई अपहरण तथा शरीर बन्धकको फरार प्रतिवादी भनिएको छ उनी सोही प्रतिवादी भएको प्रमाणित हुने प्रमाण पेश नभएको।
२. सोही मुद्दाका सह–अभियुक्तहरूले उनको पहिचान गर्न नसकेको।
दुर्गाबहादुरले पक्राउ लगत्तै के भने? पछि के भनेर बयान फेरे? यसबारे उकेराकाे अघिल्लाे खाेज तलकाे लिङ्कमा क्लिक गरि हेर्न सक्नुहुनेछ।
असोज ८, २०७८ शुक्रबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।