उपहारको लोभ देखाउने ठगी गर्ने भारतीय नागरिक पक्राउ
काठमाडौँ : सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न सामान पठाउने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा भारत, दार्जिलिङका सन्दीप क्षेत्रीलाई पक्राउ गरेको हो।
महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनले फेसबुक मेसेन्जर , ह्वाट्सएप लगायतबाट नान्सी मिसेलको नाममा फ्रेन्ड रिक्वेस्ट पठाएर कुराकानी गर्दै आफूलाई बेलायती नागरिक भएको भन्दै ठगी गर्दै आएको देखिएको छ।
उनले आफू बेलायती नागरिक भएको विश्वासमा पारेर उपहारहरू पार्सल पठाएको भन्दै त्यसबापत लाग्ने कर भन्दै रकम मगाएर ठगी गर्ने गरेका थिए। एक पीडितले पाँच लाख १० हजार ठगिएको भन्दै महाशाखामा जाहेरी दिएपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय झापासँग सहकार्य गरेर उनलाई पक्राउ गरेको हो।
उनी सलगुढीको पानीटंकीमा रहेको प्रेन्टि क्रोस्टल चर्चका पादरी रहेको र उनले चर्चको विभिन्न धार्मिक कार्यक्रममा भेट भएका महिलाहरूलाई क्रिस्चियन धर्मसँग सम्बन्धित विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले सहयोग गरेको रकम आफ्नो खातामा झिकाउन नमिल्ने भएको भन्दै खाता खोल्न लगाएर ठगीको रकम ती खातामा राख्न लगाउने गरेको देखिएको कोइरालाले जानकारी दिए।
उनका अनुसार उनले महिलालाई विश्वासमा पारेर खाता खोल्न लगाई आफूले ठगी गरेको रकम उनीहरूको खातामा जम्मा गरेर महिलामार्फत भुक्तानी लिने गरेका थिए।
असोज ८, २०७८ शुक्रबार १४:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।