कारबाहीको धम्कीपछि समाज कल्याणका पदाधिकारीको सामूहिक राजीनामा
काठमाडौँ : समाज कल्याण परिषद्का उपाध्यक्ष सहितका पदाधिकारीले राजीनामा गरेका छन्।
आजकै मितिदेखि लागु हुने गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवमार्फत राजीनामा बुझाएको उपाध्यक्ष पद्मप्रसाद खतिवडाले जानकारी दिए।
प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरेर राजीनामा दिएको खतिवडाले बताए। परिषद्का उपाध्यक्ष खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती, सदस्यहरू मणिराम बन्जाडे, सुशील ज्ञवाली, नानीमाया नेपाल, सञ्जयकुमार महतो, गोविन्द बहादुर शाही र ब्रह्मध्वज गुरुङले राजीनामा बुझाएका हुन्।
उनीहरूलाई पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।
राजीनामा नदिए कारबाही गर्ने धम्की दिएपछि आफूहरूले राजीनामा दिएको खतिवडाले बताए। ‘परिषद्को बजेट निर्माण हुन दिइएन,कर्मचारीले साउनदेखि तलब पाएका छैनन्,’खतिवडाले उकेरासँग भने,‘अस्थायी, करार र ज्यालादारी ३५ जना कर्मचारीको म्याद थप्न गरेको प्रस्तावमा कसैको थप्ने कसैको नथप्ने दबाब आयो।’
प्रधानमन्त्रीको अध्यक्षतामा ४२ औँ सामाजिक दिवस मनाउन गरेको प्रस्तावमा पनि अनुमति नपाइएको उनले बताए। समिति गठनको अनुमति नै नपाएकाले हरेक वर्ष असोज ६ गते मनाउने सामाजिक दिवस यो वर्ष नमनाइएको उनले बताए।
‘महिला मन्त्रीलाई स्वागत गर्ने हाम्रो योजना थियो,’खतिवडाले भने,‘तर, कारबाही गर्ने सम्मका धम्की दिएर परिषद्को फाइल मगाउने काम भएपछि राजीनामा दिएका हौँ।’ प्रधानमन्त्रीले बोलाएर मार्ग प्रशस्त गर्न नभनेको र बाहिर बाहिरबाट राजीनामा दिन दबाब आएको उनले बताए।
असोज ८, २०७८ शुक्रबार १४:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।