प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन गर्न मिल्ने नमिल्ने रिटमा सुनुवाइ जारी 

प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन गर्न मिल्ने नमिल्ने रिटमा सुनुवाइ जारी 

काठमाडौँ : सर्वोच्च अदालतमा प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास गठन गर्न मिल्ने कि नमिल्ने रिटमा अहिले सुनुवाइ भइरहेको छ।

न्यायाधीश प्रकाश ढुङ्गाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा प्रधानन्यायाधीशबिना इजलास गठन गर्न मिल्ने या नमिल्ने विषयमा सुनुवाइ भइरहेको प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। 

अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन गर्न नमिल्ने दाबी सहित दायर गरेको रिटमा न्यायाधीश हरि फुयाँलले यो मुद्दा टुङ्गो नलागेसम्म संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा पनि सुनुवाइ नगर्न आदेश दिएका थिए। 

प्रधानन्यायाधीश संवैधानिक इजलासमा बस्न मिल्ने या नमिल्ने विषयमा सर्वोच्चबाट जारी भएको अन्तरिम आदेशमा अहिले सुनुवाइ भइरहेको दाहालले उकेरालाई जानकारी दिए। 

यस्तै राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टी खारेजीको माग गर्दै दायर भएको रिटमा पनि अहिले सुनुवाइ भइरहेको छ।

अधिवक्ता श्रीकान्त बरालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको प्रवक्ता दाहालले बताए। 

असोज ८, २०७८ शुक्रबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।