विधेयक निर्णयार्थ पेस हुँदा मौन बसे एमाले सांसद 

विधेयक निर्णयार्थ पेस हुँदा मौन बसे एमाले सांसद 

काठमाडौँ : राष्ट्रिय सभाले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

प्रतिनिधि सभाबाट सन्देशसहित राष्ट्रिय सभामा पुगेको आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले स्वीकृत भएको हो। 

राष्ट्रिय सभामा अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सभाका अध्यक्ष गणेश तिमिल्सिनाले छलफलमा भाग लिने कोही सांसद नभएपछि निर्णयार्थ पेस गरेका थिए। 

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले उठेर विरोध जनाए। प्रस्तावको पक्ष र विपक्षमा एमाले सांसद मौन बसे। विधेयकमाथिको छलफलमा कुनै सांसदले पनि भाग लिएनन्। 

दुवै विधेयकमाथि असोज ११ गते दफावार छलफल हुने अध्यक्ष तिमिल्सिनाले बैठकमा जानकारी गराए। बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरेका पत्र वाचन गरेर सुनाइएको थियो। 

विनियोजन विधेयक २०७८ सङ्घीय संसद्को दुवै सदनबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो। राष्ट्रपति भण्डारीले बिहीबार नै विनियोजन विधेयक प्रमाणीकरण गरेकी थिइन। 

असोज ८, २०७८ शुक्रबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।