यस वर्षको मदन पुरस्कार इङ्नाम र जगदम्बा–श्री थापालाई 

यस वर्षको मदन पुरस्कार इङ्नाम र जगदम्बा–श्री थापालाई 

काठमाडौँ : ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह’ का लेखक अध्येता भगिराज इङ्नाम २०७७ सालको मदन पुरस्कारबाट सम्मानित हुने भएका छन्।

नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बा–श्रीबाट  सम्मान गर्ने निर्णय भएको छ। 

मदन पुरस्कारका लागि गुठीमा २२२ पुस्तक प्राप्त भएकोमा ९ वटा श्रेष्ठ सूचीमा चयन भएका थिए। जसमध्ये इङ्नामको दस्ताबेजले मदन पुरस्कार पाएको हो।

श्रेष्ठ सूचीमा लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रहका साथै गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्पग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फूलाङ्गे, केशव दाहालको मोक्षभूमि र जेसन कुँवरको रमिते  परेका थिए।

 बिहीबार बसेको गुठीको साधार सभाले ७ दशकदेखि नेपाली नृत्य विधाको अध्ययन अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका थापालाई जगदम्बा श्री समर्पित गर्ने निर्णय गरिएको गुठीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दुवै पुरस्कारको राशि चार लाख नगदसहित सम्मान पत्र रहेको छ। गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बा–श्री सम्मान प्रदान गर्दै आएको छ।

असोज ७, २०७८ बिहीबार २०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।