नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी चयन

नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी चयन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गठन गरेको छ।

पार्टी सचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकले एक अध्यक्ष, एक वरिष्ठ नेता, सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको  छ। त्यसै गरी ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र ३०१ सदस्यीय  केन्द्रीय कमिटी गठन गरिएको खतिवडाले बताए।

बैठकले प्रदेश तथा जिल्ला इन्चार्ज  तोकेको छ। केन्द्रीय कमिटीबाहेक सबै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको खतिवडाले जानकारी दिए। बैठकले ‘तत्कालीन कार्य योजना’ २०७८ पारित गरेको छ। तीन महिनाभित्र सबै स्थानीय तहका वडामा कमिटी गठन गर्ने लक्ष्य राखिएको एकीकृत समाजवादीले जनाएको छ।

 बैठकले ७०१ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय गरेको छ। पार्टीमा अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने छन्। केन्द्रीय सल्लाहकार र ज्येष्ठ नागरिक मञ्च गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ।  

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाइ छलफल भएको थियो । बैठकमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सङ्गठन विस्तार, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा आवश्यक रणनीति तयार गर्नेबारे छलफल भएको खतिवडाले बताए।

नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो।

असोज ७, २०७८ बिहीबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।