अब विदेशी पर्यटक नेपाल आउँदा क्वारेन्टिन बस्नु नपर्ने
काठमाडौंः सरकारले विदेशी पर्यटकका लागि क्वारेन्टिनको व्यवस्था हटाएको छ। कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका पर्यटकका लागि सरकारले क्वारेन्टिन बस्नुपर्ने नियम हटाएको हो।
‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेश– २०७८’ जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय खोप लगाएका विदेशी पर्यटकलाई नेपाल आउन सहज बनाएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उपसचिव एवम् सह–प्रवक्ता प्रेम सुवेदीले कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाएकालाई क्वारेन्टिन बस्नपर्ने व्यवस्था हटाइएको बताए। उनले यो व्यवस्था भोलि अर्थात असोज ८ गते देखि नै लागू हुने पनि बताए।
उक्त सूचनामा विदेशबाट पर्यटक नेपाल आउँदा खोप लगाएको १४ दिन पूरा भएको प्रमाण साथमा नै राख्नुपर्ने जनाइएको छ। हवाइ उडानको लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परिक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण हुनुपर्ने छ।
कोभिडको खोप नलगाएका विदेशी नागरिक भने अनिवार्य रूपमा १० दिन आफ्नै खर्चमा होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ। ११ औँ दिनमा कोभिड– १९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्र उनीहरूले नेपाल भ्रमणको उद्देश्य बमोजिमको काममा संलग्न हुन पाउने आदेशमा उल्लेख गरिएको छ।
असोज ७, २०७८ बिहीबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।