हत्या अभियाेगमा एक जना पक्राउ

हत्या अभियाेगमा एक जना पक्राउ

दैलेखः जिल्ला प्रहरी कार्यालय दैलेखले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुराँस गाउँपालिका–५ भैरीखोलाका २१ वर्षीय गणेशबहादुर विक रहेका छन्।

सोही ठाउँमा गएको भदौ १५ गते अपरिचित महिलाको शव फेला परेको थियो। प्रहरीले तत्काल सनाखतका लागि फोटोसहितको हुलिया परिपत्र गरेको थियो। तर उनको सनाखत नभएपछि प्रहरीले कानूनी प्रक्रियाअनुसार शवको दाहसंस्कार गरेको थियाे।

गएको भदौ २७ गते भने नारायण नगरपालिका–१० भवानी बस्ने ५५ वर्षीया शान्ति बोगटीले प्रहरी कार्यालयमा पुगेर साे मृतक आफ्नी छोरी अस्मिता कुमारी बोगटी भएको बताएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी)अनुप श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अस्मिता ४ वर्षदेखि काठमाडौंमा बस्दै आएकी थिइन्। उनी तीजमा घर आउन लागेको परिवारलाइ जानकारी गराएकी थिइन्। तर छोरी घरमा नआएपछि परिवारले खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

शान्तिले बुधबार ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान)मा जाहेरी दिएपछि जाहेरीकै आधारमा प्रहरीले विकलाइ पक्राउ गरेको हो। हत्याको कारण नखुलेको र थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठको भनाइ छ।

असोज ७, २०७८ बिहीबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।