काठमाडौंमा कांग्रेसको वडा अधिवेशन सम्पन्न
काठमाडाैंः नेपाली कांग्रेस काठमाडाैंकाे वडा अधिवेशन सम्पन्न भएकाे छ। क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो।
सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्य रहेको काठमाडौंमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले बताए। १० प्रतिनिधि सभा निर्वाचन क्षेत्र र २० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन्।
काठमाडौंमा १३८ वडामध्ये ६० प्रतिशत वडाको निर्वाचन सर्वसम्मत भए पनि केही वडामा भने वडा सभापति र सचिवलगायतका पदमा निर्वाचन हुन लागेको प्रमुख निर्वाचन अधिकृत आचार्यले बताए। काठमाडौंमा कांग्रेसका ३० हजारभन्दा बढी क्रियाशील सदस्य रहेका छन्।
करिब ९ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन्। क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन्। कांग्रेसले गाउँ/नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ।
यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।
असोज ५, २०७८ मंगलबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।