रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने भन्दै अवैध रूपमा नेपाल भित्र्याउने ३ जना पक्राउ
काठमाडौंः रोहिंग्या शरणार्थीलाई अमेरिका लैजाने भन्दै अवैध रूपमा नेपाल भित्र्याउने ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ परेका तीनै जना विदेशी नागरिक रहेकाे प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने बंगलादेश घर भएका बंगलादेशी राहदानी नम्बर बिके ०७२५८८१ बाहक ३० वर्षीय आजमत अलि, काठमाडौं कपन राम मन्दिर (शरणार्थी क्याम्प) बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २७ वर्षीय सोफिक आलम र सोही क्याम्प बस्ने म्यानमार घर भएका रोहिंग्या शरणार्थी २६ वर्षीय नूर अमिन रहेका छन्।
अमेरिका जान खोज्ने रोहिंग्या शरणार्थीलाई बंगलादेशबाट नेपाल ओसार्ने गरिएकाे भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीकाे टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे। अनुसन्धानको क्रममा नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलिसँग मिली रोहिंग्या शरणार्थीहरुलाई नेपाल भित्राउने गरेको खुल्न आएकाे छ।
उनीहरूलाई शनिबार पक्राउ गरी मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलमा पठाइएको थियो। ब्यूरोबाट थप अनुसन्धानको क्रममा बङ्लादेशमा शरण लिएका ६ जना रोहिंग्या शरणार्थीलाई नेपालमा पुगेपछि मासिक भत्ता दिइने तथा २०२२ मा यूएनएचसिआरले अमेरिका जाने परिचयपत्र दिने प्रलोभनमा पारि नेपाल ल्याइएकाे पत्ता लागेकाे छ।
शरणार्थीहरुबाट २ लाख ५० हजार टाका लिई साउन १८ गते स्थलमार्ग हुँदै भदौ १८ गते बिराटनगर र १९ गते काठमाडाैं ल्याइएकाे थियाे।पक्राउ परेकाहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद लिई थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
असोज ५, २०७८ मंगलबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।