विश्वकै उत्कृष्ट १० मा चाँगुनारायण नगरपालिका
काठमाडाैंः भक्तपुर जिल्लामा अवस्थित चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० मा पर्न सफल भएकाे छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र परेकाे हाे।
अन्तर्राष्ट्रिय जगतमा नेपालको तर्फबाट यस प्रकारको उपाधि जित्ने चाँगुनारायण नगरपालिका पहिलो भएको नपाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानेले जानकारी दिए। नगरपालिकाको तथ्याङ्क व्यवस्थापन एवं खुला तथ्याङ्क प्रणालीको क्षेत्रमा संसारका उत्कृष्ट १० शहरको छनोटमा चाँगुनारायण नगरपालिका परेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले बताए।
चाँगुनारायण नगरपालिकाले विकास गरेको नेपालकै पहिलो ओपन डाटा प्लेटफार्मको कारण यो उपाधि हासिल गरेको उनले बताए। चाँगुनारायण नगरपालिकासँगै अमेरिकाको सिटी अफ न्यूयोर्क, क्यानडाको सिटी अफ विन्निपेग, इजराइलको वियर सिभा, अमेरिकाको सिटी अफ अल्बिकियु, अमेरिकाको सिटी अफ स्यरक्यूस, रोमानियाको तिमिसोअरा, अर्जेन्टिनाको मिनडोजा सिटी, अमेरिकाको मिसोउरी, इक्वेटरको सिटी अफ ग्युएक्युल उत्कृष्ट १० मा पर्न सफल भएका छन्।
ओपन सिटी इन्क्युबेटर कार्यक्रममा छनोट हुने शहरले आगामी ६ महिनासम्म संसारका विश्व प्रसिद्ध डाटा विज्ञबाट दिइने तालिममा समेत सहभागी भई आफ्ना डाटासम्बन्धी गतिविधि एवं कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार तयार पार्नेछ। कार्यक्रममा छनोट भएका शहरको घोषणा सोमबार न्युयोर्कस्थित एक भर्चुअल कार्यक्रममार्फत गरिएको नपाका सूचना प्रविधि अधिकृत न्यौपानेले जानकारी दिए।
सूचना प्रविधि अधिकृत न्यौपानेले भने, “माइक्रोसफ्ट, मास्टरकार्ड सिटी पोसिबल, लुमिइन्ट, एनवाइयु सियुएसपी, द पब्लिक सेक्टर नेटवर्कजस्ता विश्व विख्यात कम्पनीद्वारा सञ्चालित कार्यक्रम हो यो।”
असोज ५, २०७८ मंगलबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।