हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको निधन, स्थानीय आन्दाेलित

हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको निधन, स्थानीय आन्दाेलित

सुनसरीः जिल्लाकाे बराहक्षेत्र नगरपालिका–११ स्थित मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ। स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वेकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए।

 

घरनजिकै रहेको पोखरीको डिलमा गाईवस्तुका लागि घाँस काट्न गएका बेलामा हात्तीले आक्रमण गर्दा खत्वे गम्भीर घाइते भएको स्थानीयवासी राजकुमार साहले बताए। कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते खत्वेको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हाे।

खत्वेको निधनपछि आक्रोशित स्थानीयले आन्दोलन सुरु गरेका छन्। पटक–पटक जङ्गली जनावरको आतङ्कका कारणले आफूहरूलाई समस्या भएको भन्दै स्थानीयले यसलाई नियन्त्रण गर्नुपर्ने माग गर्दै बराहक्षेत्रमा विरोध प्रदर्शन सुरु गरेका छन्।

जङ्गली जनावरको नियन्त्रण गर्नुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्नेलगायत माग गर्दै विरोध प्रदर्शन गरिएको स्थानीयवासी साहले बताए।

केही दिन अगाडि मात्र जङ्गली हात्तीको आक्रमणबाट कोशी गाउँपालिका–२ का एक जनाको समेत निधन भएको थियो।

असोज ५, २०७८ मंगलबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।