कांग्रेसका १३ जिल्लाको वडा अधिवेशन भोलि नहुने
काठमाडौँ : नेपाली कांग्रेसको १३ जिल्लामा भोलि असोज ५ गते वडा अधिवेशन नहुने भएको छ।
भदौ १८ मा क्रियाशील सदस्यता विवाद समाधान नभएर वडा अधिवेशन हुन नसकेका २० जिल्ला मध्ये १३ जिल्लाको अधिवेशन भोलि नहुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले अहिलेसम्म क्रियाशील सदस्यता नामावली प्राप्त नभएकाले भोलि १३ जिल्लाको वडा अधिवेशन नहुने समितिका संयोजक महादेव यादवले बताए। ‘अहिलेसम्म नामावली पाएका छैनौँ,’यादवले उकेरासँग भने, आज प्राप्त भए भोलि मात्रै निर्वाचन अधिकृत खटिनेछन्।’
असोज ५ गते हुन नसकेका जिल्लाको वडा अधिवेशन असोज ९ गते अगाडि गर्न सकिने उनले बताए। ‘कतिपय दुर्गम ठाउँमा ९ गते पनि वडा अधिवेशन हुन नसके त्यसपछि पनि अधिवेशन गर्न सक्नेछन्,’उनले भने,‘तर, अहिलेसम्म क्रियाशील सदस्यता नामावली नै पाएका छैनौँ।’
प्रदेश २ सहित सुर्खेत, डोल्पा, रसुवा, कैलाली र रुपन्देही जिल्लाको क्रियाशील सदस्यता नामावली प्राप्त नभएको यादवले बताए। काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, बर्दिया र कपिलवस्तुमा भने भोलि असोज ५ गते अधिवेशन गराउन निर्वाचन अधिकृत पठाइसकिएको उनले जानकारी दिए।
कांग्रेस सभापति शेरबहादुर देउवालाई विवाद समाधान समितिले १३ जिल्लाको नाम टुङ्गो लगाएर बुझाएको बताए पनि समितिले भने अहिलेसम्म नामावली नै पाउन नसकेको जनाएको हो।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले नीतिगत रूपमा विवाद समाधान भएको बताए। ‘क्रियाशील सदस्यता विवाद नीतिगत रूपमा सकिएको छ,’पौडेलले उकेरासँग भने,‘यहाँ अलिअलि काम गर्न भने बाँकी छ।’
क्रियाशिल विवाद समाधान भएका ५७ जिल्लाको वडा अधिवेशन भइसकेको छ।
असोज ४, २०७८ सोमबार १३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।