विभूषित हुनेहरूलाई ओलीको कटाक्ष, ती विभूषण बोल्न सक्ने भए उफ्रिन्थे
संविधान दिवसको अवसरमा एमालेले गरेको कार्यक्रममा अध्यक्ष ओलीले झगडियाहरू, मुद्दा हाल्नेहरू, जे पायो त्यही बोल्नेहरू सम्मानित भएको बताए। ‘अलङ्कार विभूषण पदकहरूको नाममा कालो पोतेको, ती विभूषणहरूले लज्जा मानेको हेर्नुहोस् त,'ओलीले भने,‘ती बोल्न सक्ने भए उफ्रिन्थे,बोल्न सक्दैनन्, कस्का कस्का घाटीमा झुन्डिएका छन् हेर्नुहोस् त।’
संविधान दिवसका दिन जनताका पराक्रमी सन्तानले सम्मानित हुन पाउनु पर्ने ओलीले बताए। ‘उनीहरूले सम्मानित भएको अनुभूति गर्न पाउनु पर्ने, गर्व गर्नु पर्ने,’ओलीले भने,‘बालाई सम्मान, श्रीमतीलाई सम्मान,अघिल्लो पटकको पनि म सम्झिन चाहन्छु, एक जनाको छोरोलाई सम्मान, सुपुत्रलाई सम्मान, अर्कोको सुपुत्रीलाई सम्मान, अर्काको छोरो महान् समाजसेवी, कस्तो विडम्बना यस देशको।’
उनले सरकारमा भोका जुकाहरू पुगेको आरोप पनि लगाए। ‘कस्ता भोका जुकाहरू पुगेका छन् शासनमा,’उनले भने,‘लाज लाग्छ संविधान दिवसका दिन बोल्दा।’
संविधान दिवसका दिन त संविधान ल्याएकोमा, लोकतन्त्र पाएकोमा र यो सफलता पाएकोमा शहीदका सन्तानले गर्व गर्न पाउनु ओलीको भनाई थियो। ‘शहीदका आमा बाबुले गर्व गर्न पाउनु पर्ने, घाइतेहरूले सम्मानित हुन पाउनुपर्ने,’ओलीले भने,‘आज त बाउको मुख हेर्ने दिन हो? श्रीमतीको मुख हेर्ने दिन हो? छोरा छोरीको मुख हेर्ने दिन हो? कस्तो लालसा कस्तो भोक।’
उनले बाहिर गफ गर्न जति पनि सक्ने तर, व्यवहारमा मौका पाउँदा केही पनि बाँकी नराख्ने प्रवृत्ति देखिएको बताए।
उनले आफ्नो सरकारको समयमा असहयोग गर्ने पत्रकार र सञ्चारमाध्यमका सञ्चालकहरूलाई वर्तमान सरकारले सम्मान गरेको बताए। ‘बेठिक बेठिक समाचार लेख्ने पत्रकार, सञ्चारमाध्यम माध्यम र तिनका वनरहरुलाई सम्मान गरिएको छ,’ओलीले भने,‘खोज पत्रकारिता गर्ने पत्रकारलाई सम्मान गरेको हुन्थ्यो होला नि।’
उनले सरकारले दुई चार जनालाई सम्मान गर्न छुटाएको जस्तो लागेको बताए। ‘तिनलाई किन छोडेको होला?’ओलीले भने,‘सबैका लागि यो लज्जाजनक विषय हो।’
असोज ३, २०७८ आइतबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।