केपी ओलीले भने, संविधानकाे व्याख्या अन्तैबाट हुन थाल्यो

केपी ओलीले भने, संविधानकाे व्याख्या अन्तैबाट हुन थाल्यो

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको व्याख्या अन्यत्रबाट हुन थालेको बताएका छन्। 

जनताका प्रतिनिधिले संविधानको व्याख्या गर्नुपर्नेमा अन्यत्रबाटै व्याख्या हुन थालेको ओलीले बताए। 

प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न सर्वोच्च अदालत परमादेश जारी गरेपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पद गुमाएका थिए।

संविधान दिवसका अवसरमा भएको कार्यक्रममा ओलीले यो खतरनाक भएको बताए। संविधानको रक्षा महत्त्वपूर्ण विषय भएको भन्दै उनले सजग हुनु पर्ने बताए। निर्वाचन आयोगले दबाब र करकापमा काम गर्न नहुने उल्लेख गरे।  

ओलीले सभामुखले जालझेल गरेको आरोप पनि लगाए। एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसद पदमुक्त हुनुपर्ने भन्दै भदौ २३ गतेदेखि निरन्तर संसद् बैठक अवरुद्ध गर्दै आएको छ। ‘सभामुखसहित संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र आचरण  नभएको आरोप लगाए। उनले भने,‘नत्र संविधान कागजको खोस्टोमा परिणत हुने खतरा रहन्छ, त्यसले लोकतन्त्र र देशलाई नोक्सान पुर्याउँछ।’ 

उनले लाभका लागि संविधानअन्तर्गत पदको शपथ खाने र फेरि संविधानमाथि मतभेद कायम छ भनेर नक्कली कुरा गर्ने प्रवृत्ति रहेको बताए। 

ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावना विपरीत भएको टिप्पणी ओलीले गरे। उनले आफ्नो सरकारको पालामा प्रतिगामी शक्तिले पुन टाउको उठाउन नसकुन् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको बताए।

असोज ३, २०७८ आइतबार १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।