पुष्प वृष्टि गर्दै परेवा उडाएर मनाइयो संविधान दिवस
काठमाडौँ : संविधान सभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत सहभागी भएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा मालेका नेता भने कार्यक्रममा गएनन्।
सो क्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै रङ्गीचङ्गी बेलुन र शान्तिका प्रतीक परेवा उडाइएको थियो ।
विशेष समारोहमा प्रधानमन्त्री देउवाले लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको धारणा राखेका थिए।
संवाद, सहमति र सहकार्यबाट अघि बढ्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको प्रधानमन्त्री देउवाको भनाइ थियो। उनले कार्यक्रममा आगामी चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोभिडविरुद्धको खोप लगाइने प्रतिबद्धता व्यक्त गरे ।
संविधानसभाबाट निर्वाचित प्रतिनिधिद्वारा २०७२ असोज ३ गते सङ्घीय नेपालको संविधान जारी भएको थियो। संविधान जारी भएदेखि हरेक वर्ष असोज ३ लाई संविधान दिवसको रूपमा मनाउने गरिएको छ।
असोज ३, २०७८ आइतबार १२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।