पत्रकार हरिबहादुर थापा र कार्टुनिस्ट रविन सायमीद्वारा पदक लिन अस्वीकार 

पत्रकार हरिबहादुर थापा र कार्टुनिस्ट रविन सायमीद्वारा पदक लिन अस्वीकार 

काठमाडौँ : पत्रकार हरिबहादुर थापा र कार्टुनिस्ट रविन सायमीले सरकारले संविधान दिवसको अवसरमा प्रदान गरेको पदक लिन अस्वीकार गरेका छन्।

थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘पदकबारे मेरो मान्यता जनप्रतिनिधिले लेखेको हाम्रो संविधान सातौँ वर्षमा प्रवेश गरेको अवसरमा संविधानवाद अझ सुदृढ हुँदै जाओस्, लोकतान्त्रिक शैली व्यवहारमा देखिँदै जाओस्। सबैलाई मेरो हार्दिक शुभकामना। 
आज सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा मेरो पनि नाम रहेछ, सम्झेकामा सरकारलाई धन्यवाद। विगतमा मलाई पदकका लागि पटक पटक सोधिएको र मैले अस्वीकार गरी आएको जानकारी गराउँछु। यसपालि भने सोध्दै नसोधी मेरो नाम आएछ। सु प्रबल जनसेवाश्रीमा १२ नम्बरमा उल्लेखित म हरिबहादुर थापा पदक अस्वीकार गर्ने जानकारी गराउँछु। मैले मानपदवी, अलङ्कार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे समाचार–विश्लेषण–पुस्तकमार्फत लामो समयदेखि प्रश्न उठाइरहेको छु। राज्यले सम्मान नै गर्नुहुन्न भन्ने होइन, तर सम्मान स्वयं सम्मानित हुने गरी मात्र सम्मान गर्नुपर्छ। कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे खुला बहस हुनुपर्छ, विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्छ।’ लेख्दै पदक नलिने घोषणा गरेका हुन्। थापा ई कागज डटकमका प्रधान सम्पादक हुन्। 

त्यस्तै कार्टुनिष्ट रविन  सायमीले पनि पदक नलिने घोषणा गरेको छन्। सामाजिक सञ्जाल फेसबुकबाट सायमीले विभूषण नलिने घोषणा गरेका हुन्। सायमी नागरिक दैनिकका डिजाइनर प्रमुख समेत हुन्। 

संविधान दिवसको अवसरमा ९सय ३ जना विभूषित
सरकारले संविधान दिवसका दिन ९ सय ३ जनालाई विभूषित गर्ने भएको छ।  राष्ट्रपति बिदादेवी भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महा उज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई, सुकृतीमय राष्ट्रदीप  तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रबल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ ।

यसै गरी राष्ट्रपतिले राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सु भूषण ३४ जनालाई, अति पौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीन जनालाई र नेपाल प्रताप भूषण १६ जनालाई प्रदान गरेकी छिन्।

राष्ट्र सेवा पदक प्रथम श्रेणी तीन जनालाई, सुकृती पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकास रत्न पदक एक जनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गरिएको छ। यस वर्ष मिडिया सञ्चालकसहित ५३ सञ्चारकर्मीले विभिन्न पदक पाएका छन्।

पत्रकारहरू पनि सम्मानित 
सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरू–
तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा । 

कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरू–
ओम शर्मा, गुणराज लुइँटेल, महेश्वर दाहाल  

प्रबल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरू–
अजयबाबु शिवाकोटी, बद्री सिग्देल, ऋषि धमला, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कबिर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दु, डा.बालकृष्ण चापागाईँ, माधव ढुङ्गाना, प्रकृति अधिकारी, गोविन्द धिताल, शालिक सुवेदी र भीष्मराज ओझा  

जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरू–
भुवन शर्मा, दीपक खरेल, भरतबन्धु थापा, गिरिजाप्रसाद अधिकारी, किसन राई, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनिल महर्जन, रोशन सापकोटा, रेखा भुसाल, विष्णु खड्का, आकांक्षा शाह, वृजकुमार यादव, नरेन्द्र साउद, लीला बराल, भवानी कार्की, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ रहेका छन्।

असोज ३, २०७८ आइतबार ११:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।