आज संविधान दिवस मनाइँदै

आज संविधान दिवस मनाइँदै
फाइल फोटो

काठमाडौँ : संविधान सभामार्फत २०७२ असोज ३ गते जारी भएको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदै छ।

मुलुकलाई सङ्घीय संरचनामा लाने गरी जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउने उद्देश्यले जारी गरिएको संविधानको आज सातौँ दिवस विविध कार्यक्रमका साथ मनाउन लागिएको हो। राजनीतिक दलहरूको सहमतिमा तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारको पहलमा निर्माण भएको संविधान तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले जारी गरेका थिए।

संविधानमा सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ।
विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ। सरकारको निर्णयअनुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ।

राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ।  दिवसका अवसरमा आइतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ। संविधान दिवसको अवसरमा घर घरमा दीपावली गर्न समारोह प्रचार प्रसार समितिले आग्रह गरेको छ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेतालगायत राजनीतिक दलका नेतृत्वले देशवासीका नाममा शुभकामना सन्देश दिएका छन्।

विभिन्न छिमेकी एवम् मित्र राष्ट्रका राष्ट्र प्रमुख एवम् सरकार प्रमुखले शुभकामना दिएका छन्।

असोज ३, २०७८ आइतबार ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।