आदर्शलाई व्यवहारमा उतार्नु आजको आवश्यकता : सभामुख सापकोटा

आदर्शलाई व्यवहारमा उतार्नु आजको आवश्यकता : सभामुख सापकोटा

काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधानमा अन्तर्निहित लोकतान्त्रिक मूल्य, मान्यता आदर्श र प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्नु आजको मुख्य कार्यभार भएको बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले आम नागरिकले नयाँ संविधान अनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको समीक्षा गर्दै अघि बढ्न अपिल गरेका हुन्। 

उनले संविधानमा व्यवस्था गरिएको शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त अनुरूप अघि बढ्दा मात्रै यसको कार्यान्वयनमा सहजता आउने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

‘जनताका प्रतिनिधिले संविधानसभामार्फत संविधान निर्माण गरी जारी भएको ६ वर्ष पूरा भएको छ। नेपाली जनताको कठिन सङ्घर्षको परिणामका रूपमा २०७२ असोज ३ गतेका दिन नेपालको संविधान जारी गरिएको थियो।’, उनले सन्देशमा उल्लेख गरेका छन् ‘यस विशेष दिनमा जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न कालखण्डमा भएका सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।’

असोज ३, २०७८ आइतबार ०७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।