बालुवाटार छलफल : मन्त्रीपरिषद्लाई पूर्णता दिने कुरा मात्रै
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल अनौपचारिक छलफलमै सकिएको जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले जानकारी दिए।
सत्ता गठबन्धनका दोस्रो तहका नेताहरुबीच मन्त्रीपरिषद्लाई पूर्णता दिने, संसद्को अवरोध हटाउने, राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्ने लगायतका विषयमा छलफल भए पनि कुनै टुङ्गो भने नलागेको उनले बताए।
‘केही खास विषय थिएन, सामान्य छलफल भएको छ,’यादवले उकेरासँग भने,‘अब चाडै मन्त्रीपरिषद् विस्तार हुन्छ भन्ने आशा गरौँ।’
नेताहरुबीच संसद्को अवरोध हटाएर बजेट पारित गर्ने विषयमा छलफल भएको उनले बताए।
अघिल्लो सरकारले जेठ १५ गते ल्याएको अध्यादेश बजेट हिजो बुधबारदेखि निष्क्रिय भएको छ। सरकारले अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याएको विधेयक पारित भएको छैन।
विधेयक पारित नभएको, अध्यादेश निष्क्रिय भएको र संसदमा अवरोध कायमै रहेको विषयमा छलफल भए पनि कुनै निष्कर्ष भने ननिस्किएको यादवले बताए।
सत्ता गठबन्धन दलले पाउने मन्त्रालयको संख्या पनि टुङ्गो लागेको छैन। जसपाले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै सरकारमा सहभागी हुने बताएकाले मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन।
‘अध्यादेशको उद्देश्य पुरा भइसक्यो नि, अब त खारेज गर्नु पर्छ,’यादवले भने,‘सरकारले खारेज गर्ने भनेको छ, खारेज हुने बित्तिकै मन्त्रालय भागबन्डामा छलफल हुन्छ।’
भदौ ३१, २०७८ बिहीबार २१:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।