विवादमा सभापति देउवा : डडेलधुराका सबै वडाको अधिवेशन बदर गर्न निर्वाचन समितिमा उजुरी 

विवादमा सभापति देउवा : डडेलधुराका सबै वडाको अधिवेशन बदर गर्न निर्वाचन समितिमा उजुरी 

केन्द्रीय निर्वाचन समितिमा सम्बन्धित व्यक्तिबाट अधिवेशन बदर गरेर पुन अधिवेशन गराउन उजुरी परेको समितिका संयोजक महादेव यादवले जानकारी दिए। 

‘निर्वाचन अधिकृतबाट कतैको पनि उजुरी आएको छैन,’उनले उकेरासँग भने, ‘सम्बन्धित व्यक्तिबाट उजुरी आएको छ।’ उनले उजुरी आएकाले अध्ययन गरेर निर्णयमा पुग्ने बताए। 

डडेलधुरा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले निर्वाचन समितिलाई डडेलधुराका सबै वडाको अधिवेशन बदर गर्न माग गरेका छन्। ‘उहाँहरूले आएर वडा अधिवेशनमा धाँधली भएको छ, बदर गर्नुपर्छ भन्नुभएको छ,’यादवले भने,‘गडबड भए नभएको सभापतिसँग पनि परामर्श गरेर निर्णयमा पुग्छौँ।’ 

पार्टी सभापति एवं प्रधानमन्त्री समेत रहेका देउवाले सत्ता र शक्ति प्रयोग गरेर डडेलधुरा लगायत ललितपुर, सोलुखुम्बु र नुवाकोटमा वडा अधिवेशन गराएको भन्दै सच्याउन माग गरेको छ। 

कांग्रेसको निर्वाचन समितिले विवाद भएका विषयमा निर्वाचन अधिकृतबाट कुनै उजुरी भने नआएको जनाएको छ। समितिले आज बिहीबार थप ७ जिल्लामा सदस्यता नामावली सहित निर्वाचन अधिकृत खटाइएको जनाएको छ।

भदौ ३१, २०७८ बिहीबार २१:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।