कांग्रेसले सार्वजनिक गर्‍यो सात जिल्लाको क्रियाशील सदस्यता नामावली  

कांग्रेसले सार्वजनिक गर्‍यो सात जिल्लाको क्रियाशील सदस्यता नामावली  

काठमाडौँ : नेपाली कांग्रेसले काठमाडौँ, मोरङ सहित ७ जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ।

केन्द्रीय सदस्यता छानबिन समितिले टुङ्गो  लगाएर बुझाएको सात जिल्लाको नामावली आज सार्वजनिक गरिएको कांग्रेस निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

कांग्रेसले काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु, मोरङ र बाजुरा जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको हो। 

कांग्रेसले अझै १३ जिल्लाको क्रियाशील सदस्यता नामावली टुङ्गो लगाउन सकेको छैन। भोलि या असोज १ गतेसम्म सबै जिल्लाको नामावली आउने समितिका सदस्य श्रेष्ठले बताए। 

विवाद भएको डडेलधुरासहित अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन सकिएको श्रेष्ठले बताए। 

क्रियाशील सदस्यता विवाद कायमै रहेकाले २० जिल्लामा भदौ १८ गते वडा अधिवेशन हुन सकेको थिएन। यी जिल्लामा अब असोज ५ गते वडा अधिवेशन हुने कांग्रेसले संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ। कांग्रेसको १४ औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ।

भदौ ३०, २०७८ बुधबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।