कांग्रेसलाई ओलीको आरोप : भोकै बस्छ, भारतलाई बाटो नछेक भन्दैन

कांग्रेसलाई ओलीको आरोप : भोकै बस्छ, भारतलाई बाटो नछेक भन्दैन

बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस भारतसँग बोल्न नसक्ने बताएका छन्।

रुपन्देहीमा भएको एमालेको कार्यकर्ता भेलामा ओलीले कांग्रेस भोकै बस्ने तर बाटो नछेक भनेर भारतलाई भन्न नसक्ने बताए। 

उनले आफ्नै पार्टीका मान्छे बिग्रिएर कांग्रेसले प्रधानमन्त्री पाएको बताए। उनले आफ्नो सरकारले गरेका कामको प्रशंसा गर्दै भने,‘सिद्दबाबा सुरुङ मार्ग, विमानस्थल, लुम्बिनी, बुटवल नारायणगढ सडक हेरे पुग्छ कसैले के गर्यौ भनेर।’

ओलीले लोकतन्त्रमा परमादेशबाट प्रधानमन्त्री तोक्ने काम भएको बताए। ‘हामीलाई  सरकारमा बसेर चुनाव जित्न पर्दैन, जनताको साथ लिएर चुनाव जित्छौ,’उनले भने,‘१४ महिना जनतालाई कष्ट हुने भो।’

वर्तमान सरकारले अघिल्लो सरकारले शिलान्यास गरेका सडक निर्माण गर्ने हुती नभएर स्थगित गरेको आरोप पनि लगाए। उनले चुरे पहिरो नियन्त्रणमा सरकार गम्भीर नभएको बताए।

‘बुटवलको चुरे व्यवस्थित गर्नु पर्छ। त्यहाँका जनतालाई आवास विहीन बनाउँदैनौ,’ओलीले भने,‘सरकारलाई दबाब दिन्छौ।’

भदौ ३०, २०७८ बुधबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।