कम्युनिस्ट कांग्रेसको पुच्छर बनेर हिँड्दैन : एमाले नेता रायमाझी
बुटवल : नेकपा एमालेका नेता टोप बहादुर रायमाझीले कम्युनिस्ट कांग्रेसको पुच्छर बनेर नहिँड्ने बताएका छन्।
एमालेले रुपन्देहीमा गरेको कार्यकर्ता भेलामा माओवादी त्यागेका एमाले नेता रायमाझीले माधव कुमार नेपाल कांग्रेसको पुच्छर बनेको आरोप लगाए।
उनले प्रतिपक्षी दलका नेताको पुच्छर बनेकाहरूलाई कारबाही गर्न माग पनि गरे। ‘पहिले ५ वर्ष प्रधानमन्त्री बनाउने भन्ने अनि फेरि अपदस्थ गराउने?’रायमाझीले भने,‘प्रतिपक्ष नेताको पुच्छर बनेकाहरूलाई कारबाही गरियोस्।’
उनले केपी ओलीको प्रतिनिधि सभा विघटन गरेर चुनावमा जाने निर्णयको बचाउ समेत गरेका छन्। सरकार र संसदमा काम गर्न नदिँदा ताजा जनादेशमा गएको उनको जिकिर छ।
उनले प्रतिक्रियावादी तत्त्वहरूका कारण जनादेशविरुद्ध परमादेश आएको बताए। ‘यो पुरा डिजाइनमा हो,’उनले भने,‘माधव नेपालले गद्दारी गरे, भुल गरे।’
एमाले विरुद्ध एक्लै चुनावमा लड्ने हिम्मत कसैसँग नभएको दाबी उनको थियो।
रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई असफल नेताको गठबन्धनको संज्ञा पनि दिए। एमालेलाई विदेशी शक्ति समेत लागेर घेराबन्दीमा पारेको बताए। गठबन्धन ध्वस्त बनाउने रायमाझीको भनाई थियो।
भदौ ३०, २०७८ बुधबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।