शंकर पोखरेलविरुद्धको अपहरणसम्बन्धी उजुरी दाङ पठाइयाे

शंकर पोखरेलविरुद्धको अपहरणसम्बन्धी उजुरी दाङ पठाइयाे

बुटवलः लुम्बिनी प्रदेश सभाकी माओवादी सांसद विमला कुमारी खत्री (वली)ले पूर्वमुख्यमन्त्री शंकर पोखरेलविरुद्ध बुटवलमा दिएको जाहेरी दाङ पठाइएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले बुटवलमा सोमबार दिइएको उजुरी बुधबार दाङ पठाइएको बताए।

सोमबार जाहेरी लिएर माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र सांसद विमला कुमारी खत्री ईलाका प्रहरी कार्यालय बुटवल पुगेका थिए। त्यसपछि ईलाका प्रहरीले घटनाक्रमको सुरुआत दाङबाट भएकाले जाहेरी दाङ जिल्लाका लागि पठाएको हो। सांसद खत्रीले अपहरण तथा शरीर बन्धक कसुरमा जाहेरी दिएको उनले बताए।

साउन १५ गतेदेखि पाँच दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलविरुद्ध खत्रीले जाहेरी दिएकी छिन्। 

माओवादी केन्द्र लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलाराम घर्तीले पनि सांसद खत्रीले किटानी जाहेरी दिएको पुष्टि गरे। 

गत मंसिर १४ गते प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी खत्रीले नेकपा विभाजनपछि माओवादी केन्द्र रोजकी थिइन्। 

खत्रीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ। खत्रीसँग यसबारेमा कुराकानी गर्न खोजे पनि उनीसँग सम्पर्क हुन सकेन।

भदौ ३०, २०७८ बुधबार १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।