आठ जिल्लामा टुङ्गियो कांग्रेस क्रियाशील सदस्यता विवाद
काठमाडौँ :नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद देखिएका २१ मध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ।
क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरी मङ्गलवार सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको हो।
समितिले काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाको नामावली आज वेबसाइटमा सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले बताए।
भदौ १८ मा देशभरका ६ हजार ७४३ वडामा एकै दिन अधिवेशन गर्ने भने पनि कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाका वडामा अधिवेशन गरेको छ। असोज ५ गते बाँकी २१ जिल्लामा अधिवेशन गर्ने तयारी छ।
शीर्ष नेताहरूकै जिल्लामा क्रियाशील सदस्यता विवाद छ। विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिँदा विवाद देखिएका छन्।
मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा महाधिवेशन तोकेको कांग्रेसको पालिका तहमा असोज ९ मा अधिवेशन छ। त्यसअघि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ।
भदौ ३०, २०७८ बुधबार १२:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।