कक्षा १२ को परीक्षा आजबाट सुरु हुने
काठमाडौँ : कोभिड महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ।
आजबाट सुरु गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ११ बजे सुरु हुँदैछ। परीक्षा बोर्डका अनुसार यो वर्ष ३ लाख ७५ हजार विद्यार्थीले परीक्षा फाराम भरेका छन्।
४ हजार ३ सय १५ केन्द्रमा परीक्षा सञ्चालनको तयारी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। इन्टरनेटको पहुँच भएका ठाउँमा इन्टरनेटबाट परीक्षा सुरु हुनु आधा घण्टा अघि प्रश्न पत्र पठाउने कार्यालयको तयारी छ।
इन्टरनेटको पहुँच नभएका ११३ केन्द्रमा प्रश्न पत्र पठाइसकिएको परीक्षा नियन्त्रण बोर्डले जनाएको छ। बोर्डले सामाजिक दुरी कायम गरेर होम सेन्टरमै परीक्षा लिने व्यवस्था मिलाएको छ।
बोर्डले यसअघि दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित गरेको थियो ।
भदौ ३०, २०७८ बुधबार ०८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।