एमालेका दुई सांसद एकीकृत समाजवादीमा आबद्ध हुन पाउने 

एमालेका दुई सांसद एकीकृत समाजवादीमा आबद्ध हुन पाउने 

काठमाडौँ : एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा देवी भट्टले नेकपा एकीकृत समाजवादीमा आबद्ध हुन पाउने भएका छन्।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आबद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो। 

सर्वोच्च अदालतमा पाण्डे र भट्टले एकीकृत समाजवादीमा आबद्ध हुन पाउनु पर्ने आदेश माग गर्दै निवेदन दिएका थिए। निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीलाई आधिकारिता दिनु अगाडी भदौ ९ गते सनाखत गराएको थियो। भदौ ८ गते नै आयोगमा निवेदन दिएका दुवै सांसदले एकीकृत समाजवादीमा सनाखत गर्न पाएका थिएनन्। 

सर्वोच्चको आदेशमा आयोगले भदौ ९ गते दल दर्ताको क्रममा सनाखत गराउँदा र निर्णय गर्दा पाण्डे र भट्टको नाम समावेश हुने, नहुने कुनै ब्यहोरा उल्लेख गरेको नदेखिएको उल्लेख छ।

भदौ २९, २०७८ मंगलबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।