एमाले सांसदको नाराबाजीबीच आर्थिक विधेयक पारित भएको घोषणा
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले नाराबाजी गर्दा गर्दै सभामुख अग्नीप्रसाद सापकोटाले आर्थिक विधेयक २०७८ पारित भएको घोषणा गरेका छन्।
संसद्को नियमित कारबाही सुरु हुनासाथ नाराबाजीमा उत्रिएको एमाले सांसदहरूको बेवास्ता गर्दै सभामुख सापकोटाले कार्यसूची अनुसार अर्थमन्त्री जनार्दन शर्मालाई विधेयक पेस गर्न लगाएका थिए।
विधेयकमाथिको छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो धारणा राखेका थिए। सुवालले विधेयक भन्दा पनि बढी एमसीसीको विषयमा बोलेपछि सभामुखले उनको समय छोट्टाएर विधेयक निर्णयार्थ प्रस्तुत गर्न अर्थमन्त्री शर्मालाई समय दिए।
विधेयक निर्णयार्थ पेस हुँदा एमाले सांसदहरू उभिएर नारा लगाइरहेकाले सांसद सुवालले मात्र विपक्षमा मतदान गरेका थिए।
संसद्को कार्यसूची अनुसार पूर्व सांसदहरू रुक्म शमशेर राणा र मानबहादुर महतोको शोक प्रस्ताव सभामुख सापकोटाले पढेर सुनाए। शोक प्रस्ताव पारित हुँदा एमाले सांसदले नाराबाजी रोकेका थिए।
प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गतेका लागि तोकिएको छ।
भदौ २९, २०७८ मंगलबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।