बालबालिकालाई कोभिड विरुद्धको खोपका लागि सरकार प्रयासरत : प्रधानमन्त्री देउवा
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताएका छन्।
५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरूमा शुभकामना व्यक्त गर्दै देउवाले कोभिड–१९ बाट सुरक्षित राख्न बालबालिकालाई खोप उपलब्ध गराउन सरकारले प्रयत्न गरिरहेको बताएका हुन्।
सन्देशमा उनले प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्या बालबालिकाको लागि व्यवस्था गरिएको उल्लेख गरेका छन्। कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको सन्देशमा उल्लेख छ।
‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ यो वर्ष राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।
भदौ २९, २०७८ मंगलबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।