प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौँ : प्रतिनिधिसभाको बैठक आज  दिउँसो १ बजे  बस्ने भएको छ।

एमालेले लगातार अवरोध गर्दै आएको बैठक पुनः आजको लागि बोलाइएको हो।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। त्यसपछि सभामुखले  राष्ट्रियसभाका पूर्व सांसद एवम् भारतका लागि पूर्व राजदूत रुक्म शमशेर राणाको शोक प्रस्ताव पेस हुने संसद् सचिवालयले जनाएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भनी  लगातार संसद् बैठकमा नाराबाजी गर्दै आएको छ। संसद्को अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक आयोजना गरे पनि एमालेले बहिष्कार गरेको थियो। 

एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राखेर बैठक अवरुद्ध गर्दै आएको छ। १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस नगरे पदबाट राजीनामा दिन  एमालेले सभामुखलाई दबाब दिएको छ।  

भदौ २९, २०७८ मंगलबार ०८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।