विचार र अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाउन सर्वोच्च गुहार्नु रहस्यमय : पूर्व न्यायाधीश केसी
सर्वोच्च अदालतका पूर्व न्यायाधीश केसीले पूर्व न्यायाधीशहरूलाई अन्तर्वार्ता दिन र लेख लेख्न रोक नलगाउन माग गरेर निवेदन दिएका हुन्।
संवैधानिक नियुक्तिविरुद्धका संवैधानिक इजलासमा विचाराधीन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अलग हुनुपर्ने केसीले निवेदनमा उल्लेख गरेका छन्।
सर्वोच्चका पूर्व न्यायाधीशहरूलाई मिडियामा बोल्न रोक लगाउने र संवैधानिक इजलासबाट प्रधानन्यायाधीश अलग हुन नहुने आदेश माग गर्दै दायर रिटमा न्यायाधीश हरि फुयाँलको इजलासले संवैधानिक नियुक्ति विरुद्ध परेका रिटमाथिको सुनुवाइ रोक्न आदेश दिएको थियो।
उनले दिएको निवेदनमा सर्वोच्च अदालतबाट अवकाश भएपछि न्यायाधीश पनि अन्य नागरिक सरह सामान्य नागरिकमा परिणत हुने लेखिएको छ।
‘कानुनी शासन भनेकै यही हो,’केसीको निवेदनमा लेखिएको छ,‘कानुनी शासनमा कुनै ठुला र कुनै बडा हुँदैनन्, अवकाश प्राप्त न्यायाधीशले संविधानको भाग ३ ले दिएका सबै मौलिक हक र नेपाल पक्ष भएको मानवअधिकार सम्बन्धी हक र स्वतन्त्रताहरू उपभोग गर्न पाउँछ।’
रिट निवेदक डा. गणेश रेग्मी कानुन व्यवसायी भएका कारण विचार र अभिव्यक्तिको स्वतन्त्रता उपयोग र उपभोग गर्न प्रोत्साहन गर्नुपर्नेमा रोक लगाउन सर्वोच्च अदालतलाई गुहार्नु आफैँमा रहस्यमय देखिने केसीले उल्लेख गरेका छन्।
निवेदकले पूर्व न्यायाधीशलाई मात्र लक्षित गरेर विचार र अभिव्यक्ति स्वतन्त्रतामा रोक लगाइयोस् भन्ने आशय मनसाय र उद्देश्यले किन निवेदन गरे बुझ्न नसकेको केसीले उल्लेख गरेका छन्।
भदौ २८, २०७८ सोमबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।