संसद्को अवरोध हटाउन भएको छलफल निष्कर्षविहिन 

संसद्को अवरोध हटाउन भएको छलफल निष्कर्षविहिन 

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी एमाले बाहेकका दलका नेताले एमालेसहितको बैठक राखेर सहमति खोज्न सुझाव दिएको राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जानकारी दिइन। 

संसदमा देखिएको गतिरोध अन्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गरेका थिए। एमालेले बैठक बहिष्कार गरेको थियो।

सभामुख सापकोटा र कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फोन गरेर बोलाउँदा पनि एमालेका सांसद छलफलमा नआएको पौडेलले बताइन।

‘पूर्व सभामुख सुभाष नेम्वाङलाई फोन गरेर आउन भनिएको ब्रिफिङ भयो,’उनले भनिन्,‘सभामुखले बोलाएको बैठकमा नजान अध्यक्ष केपी ओलीको निर्देशन आएकाले आउन नसक्ने नेम्वाङले जानकारी गराएको कानुन मन्त्रीले सुनाउनु भयो।’

उनले सदनलाई प्रतिपक्षी दलले अर्निनिर्णयको बन्दी बनाउन नमिल्ने बताइन। एमालेले नै संसद् अवरुद्ध गरेको र सर्वदलीय बैठकमा पनि सहभागी नभएकाले कुनै ठोस निष्कर्ष निस्कन नसकेको पौडेलले बताइन। 

संसद्मा जारी अवरोध हटाउन अधिकतम पहल गर्ने सभामुखले बताउनुभएको पौडेलले जानकारी दिइन। 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बैठकमा एमाले सहभागी नभएका कारण बिना निष्कर्ष टुङ्गिएको जानकारी दिए। एमालेसँग फेरि पनि संवादको प्रयास गर्नुपर्ने सुझाव रहेको उनको भनाई छ। 

सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी एमालेले सङ्घीय संसद्को अधिवेशन चालू भएदेखि अवरोध गरिरहेको छ।

भदौ २८, २०७८ सोमबार १८:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।