मुख्य नेताकै जिल्लामा मिलेन कांग्रेसको क्रियाशील विवाद

मुख्य नेताकै जिल्लामा मिलेन कांग्रेसको क्रियाशील विवाद

बाँकी २० जिल्लाको वडा अधिवेशन पनि भदौ १८ गते नै सुरु हुनुपर्ने थियो। तर क्रियाशील सदस्यता विवाद समाधान नभएकाले भदौ २३ गतेसम्म अधिवेशन हुन नसकेको हो। 

वडा अधिवेशन सुरु भएको ५ दिनपछि कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन हुने पत्र निर्वाचन आयोगमा बुझाएको थियो। महाधिवेशनको कार्यतालिका बुझाएयता वडा अधिवेशन सम्पन्न भएका जिल्ला थपिएको छैन। 

पार्टी सभापति शेरबहादुर देउवाकै जिल्ला डडेलधुरामा क्रियाशील सदस्यता विवाद छ भने महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पनि क्रियाशील सदस्यता विवाद छ। 

डडेलधुराका जिल्ला सभापति कर्णबहादुर मल्लले पत्रकार सम्मेलन नै गरेर हालको अवस्थामा अधिवेशन अस्वीकार गर्ने चेतावनी दिएका छन्। क्रियाशील सदस्यता विवाद समाधान गरेर भएको अधिवेशन मात्रै मान्य हुने उनले बताएका हुन्। 

महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा पनि विवाद समाधान भएको छैन। वीरेन्द्रनगर नगरपालिकाको वडा नं ३, ६, ८ र ११ मा नयाँ क्रियाशील सदस्यता पदाधिकारीकै कारण वितरण नभएको बताउँछन् कांग्रेस नेता हृदयराम थानी। 

'क्रियाशील पाउन फारम भरेका ७०६ जनालाई महामन्त्री पूर्णबहादुर खड्काले सदस्यता दिनु भएन,' थानीले उकेरासँग भने, 'बाँकी वडामा विभिन्न पार्टीबाट आएका भन्दै दुई सयभन्दा धेरैलाई सदस्यता दिइएको छ।'

थानीले केन्द्रीय समितिको बैठकमा यस्तो अन्याय नगर्न आग्रह गरे पनि सुनुवाइ नभएको बताए। 'मैले केन्द्रीय समिति बैठकमा बोलेँ, छानबिन समितिलाई प्रक्रिया पुगेकालाई किन रोक्नुहुन्छ भनेर प्रश्न गरे,' थानीले भने, 'पदाधिकारीलाई कम्फर्टेबल बनाउन भन्दै दिन मिल्दैन भने।'

तर, महामन्त्री खड्का समायोजनबाट आएकाहरूको मात्रै विवाद मिल्न बाँकी रहेको बताउँछन्। नयाँ सदस्यता नदिएकोबारे उनले भने, 'अरू जिल्लामा जुन विधि अपनाइएको हो, वीरेन्द्रनगरमा पनि त्यही अनुसार गरिएको हो।' उनले यसबारे आफूभन्दा पनि क्रियाशील सदस्यता छानबिन समिति नै जानकार रहेको बताए।

कांग्रेस निर्वाचन समितिका अनुसार प्रदेश १ को मोरङ र प्रदेश २ का सबै जिल्लामा वडा अधिवेशन भएको छैन। निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठका अनुसार बागमती प्रदेशमा भने काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक र रसुवाका सबै वडामा अधिवेशन हुन बाँकी रहेको छ।

उनका अनुसार गण्डकी प्रदेशका सबै जिल्लाको वडा अधिवेशन सकिएको छ। लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके र बर्दिया अधिवेशन हुन बाँकी जिल्ला हुन्। कर्णाली प्रदेशको डोल्पा र सुर्खेतमा पनि वडा अधिवेशन भएको छैन। सुदूरपश्चिम प्रदेशको बाजुराका सबै वडा र डडेलधुराको दुई वडामा अधिवेशन भएको छैन। 

क्रियाशील सदस्य मात्रै महाधिवेशन प्रतिनिधि चुनिने भएकाले विवादको चुरो यसैमा रहेको छ। विवाद समाधान गरेर असोज १ गतेभन्दा अगाडि क्रियाशील सदस्यता प्राप्त भए असोज ५ गते बाँकी वडाको अधिवेशन गर्न सकिने निर्वाचन समितिका संयोजक महादेव यादवले बताए। 

कांग्रेसले क्रियाशील सदस्यता टुङ्गो लगाउन बाँकी २० जिल्लाकै वडा अधिवेशन असोज ५ गते गर्ने गरी कार्यतालिका नै संशोधन गरेको छ। यद्यपि असोज १ गतेसम्म पनि विवाद साम्य नभए विकल्प के भन्नेबारे भने कांग्रेस स्पष्ट छैन।

भदौ २८, २०७८ सोमबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।