सभामुखले बोलाएको सर्वदलीय बैठकमा गएन एमाले
काठमाडौँ : संसद्को अवरोध हटाउन सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएको छ। सभामुख सापकोटाले संसदमा भइरहेको अवरोध हटाउन भन्दै आज सर्वदलीय बैठक बोलाएका थिए।
नेकपा एमालेले भदौ २३ गतेदेखि निरन्तर संसद् अवरोध गरिरहेपछि सभामुख सापकोटाले सर्वदलीय छलफल गरेका हुन्।
बैठक बोलाउने सभामुखको तरिका ठिक नभएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा अनुपस्थित भएको बताए। ‘गठबन्धन दललाई एमालेसँग भिडाएर समस्या समाधान हुँदैन,’उनेले उकेरासँग भने,‘सभामुखले त्रुटि सच्चाए समस्या समाधान हुन्छ।’
उनले पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त भएको सूचना निकाल्ने आफूहरूको माग पूरा हुनुपर्ने बताए। भट्टराईले भोलि बस्ने बैठक पनि अवरोध गर्ने बताए।
भदौ २८, २०७८ सोमबार १५:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।