निर्वाचन आयोग र सभामुख विरुद्ध एमाले अध्यक्ष ओलीले दिएको रिट आज हेर्न नभ्याइनेमा

निर्वाचन आयोग र सभामुख विरुद्ध एमाले अध्यक्ष ओलीले दिएको रिट आज हेर्न नभ्याइनेमा

काठमाडौं : १४ सांसदलाई गरेको कारबाही कार्यान्वयनको माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ।

न्यायाधीशद्वय दीपककुमार कार्की र मिरा खड्काको इजलासले उक्त मुद्दा हेर्न नभ्याइनेमा राखेको हो।  ओलीले  निर्वाचन आयोग र सभामुख विरुद्ध छुट्टा छुट्टै तीन वटा रिट दायर गरेका थिए। जसमध्ये दुई वटा रिटमा आज अन्तरिम आदेश दिने कि नदिने विषयमा सुनुवाइ हुने भनिए पनि सर्वोच्च अदालतले हेर्न नभ्याइने सुचीमा राखेको हो। 

एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल सहित १४ जना सांसदलाई पार्टीले कारबाही गरे पनि सभामुखले सूचना जारी नगरेको भन्दै सभामुख अग्नि सापकोटाविरुद्ध रिट दिएका थिए।   भदौ २२ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले भदौ २८ गते दुवै पक्षलाई छलफलका लागि डाकेको थियो। त्यसै गरी कारबाही भएका सांसदलाई सनाखत गराई पार्टी दर्ता गरेको भनी निर्वाचन आयोगलाई पनि ओलीले रिट हालेका छन्।

१४ जना प्रतिनिधिसभा सदस्यहरूलाई गरिएको कारबाहीलाई कार्यान्वयन नगरी उन्मुक्ति दिने गरी विपक्षीहरूबाट भएको आदेश तथा निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी रिट निवेदक दलले गरेको कारबाही निष्कासनको निर्णय कार्यान्वयन गर्नु र गराउनु भनी विपक्षीहरूको नाममा परमादेश प्रतिषेधको आदेश जारी गरिपाऊँ रिटमा उल्लेख छ।

भदौ २८, २०७८ सोमबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।