रोजगारी गुमाएका होटल श्रमिक पर्यटकीय क्षेत्रको सरसफाइमा

रोजगारी गुमाएका होटल श्रमिक पर्यटकीय क्षेत्रको सरसफाइमा

काठमाडौँ : कोभिडका कारण रोजगारी गुमाएका होटल श्रमिकलाई वैकल्पिक आय आर्जनका लागि काठमाडौँ उपत्यकाका पर्यटकीय क्षेत्र सरसफाइमा लगाइने भएको छ। 

पर्यटकीय क्षेत्र सरसफाइ गरी  श्रमिकलाई आयआर्जन हुने अभियान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरी सुरुवात गरिएको हो। एक जना श्रमिकले ४० दिन काम गर्ने होटल सङ्घ नेपाल (हान)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थान लागि दिगो पर्यटन परियोजना अन्तर्गत यो अभियान सुरु भएको हानले जनाएको छ।

कोभिड–१९  बाट अति प्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरूलाई लक्षित गरी ल्याइएको यस कार्यक्रम होटल सङ्घ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएअनुसार श्रमिकलाई आम्दानीको वैकल्पिक माध्यमको रूपमा सुरुवात गरेको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताए।

प्रभावित श्रमिकहरूलाई दसैँ अगाडि केही राहत पुग्ने र काठमाडौँ उपत्यकाका पर्यटकीय स्थल, मठमन्दिर तथा बाटो घाटो सरसफाइ र हरियाली गर्ने कार्यक्रमबाट काठमाडौँ महानगरपालिकालाई पनि सहयोग पुग्ने शाहले जानकारी दिए। सबै श्रमिकले गरी ५ हजार दिन उपत्यकाका पर्यटकीय क्षेत्र सरसफाइ गर्ने हानले जनाएको छ।

भदौ २८, २०७८ सोमबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।