निर्वाचन आयोग र सभामुख विरुद्धको रिटको आज सुनुवाइ हुने
काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख अग्नीप्रसाद सापकोटालाई विपक्षी बनाई दिएको रिटको आज सुनुवाइ हुने भएको छ।
रिटको न्यायाधीश दीपक कार्की र मिरा खड्काको इजलासमा सुनुवाइ हुन लागेको हो। एमालेले पार्टीले कारबाही गरी साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई सभामुखले पदमुक्त नगरेको भनी ओलीले सर्वोच्च अदालतमा रिट हालेका थिए। रिटमा सभामुखले कारबाही नगरेका सांसदको सनाखतमा नयाँ दल दर्ता भएको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ।
एमाले अध्यक्ष ओलीले सभामुख सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आदेशका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएको थियो। छलफलपछि आदेश दिने र नदिने इजलासले निर्णय गर्नेछ।
एमालेले पार्टीका १४ जनालाई कारबाही गरिएको पत्र संसद् सचिवालयमा बुझाए पनि सचिवालयले नयाँ पार्टी दर्ता भएपछि मात्र पार्टी दर्ता भएकाले कारबाही गर्नु नपर्ने व्यहोराको सूचना टाँसेको थियो। पार्टी दर्ता भएपछि कारबाही भएका सांसदको सनाखत गैर कानुनी भन्दै अदालतमा मुद्दा परेको हो। एमालेले सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनलाई कारबाही गरेको थियो।
यही कारबाहीको विषयलाई लिएर एमालेले लगातार संसद् बैठकमा अवरोध सिर्जना गर्दै आएको छ।
भदौ २८, २०७८ सोमबार १२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।