सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली नजाने
काठमाडौँ : संसद् अवरोधको समस्या समाधानका लागि सभामुख अग्नीप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्।
प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा उपस्थित हुन सभामुखले व्यक्तिगत पत्र पठाए पनि सर्वदलीय बैठकमा अध्यक्ष ओली उपस्थित नहुने भएका हुन्। एमालेले कारबाही गरेका १४ सांसदको विषयमा निर्णय नभएसम्म सर्वदलीय बैठकमा सहभागी नहुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
उनले माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादीलाई आफूहरूले वैधानिक नमानेकाले उनीहरूको उपस्थिति रहने बैठकमा एमाले नजाने जानकारी दिए।
‘माधव नेपाल समूहको नेकपा एकीकृत समाजवादी अवैधानिक भनी अदालतमा मुद्दा दिएकाले अवैध पार्टीसँग हुने छलफलमा हामी सहभागी हुँदैनौँ’, तामाङले उकेरासँग भने, ‘सभामुखको समेत संलग्नतामा गैर कानुनी ढङ्गले पार्टी गठन भएको छ, त्यस्तो पार्टीको सहभागिता रहने बैठकमा हाम्रो उपस्थिति रहँदैन।’
अदालतले एकीकृत समाजवादी पार्टी दर्ताको छिनोफानो नगरेसम्म सर्वदलीय बैठकमा सहभागिता नजनाउने उनले स्पष्ट पारे। उनले संसद्का विभिन्न समितिहरूको बैठकमा भने सहभागी हुने जानकारी दिए।
एमालेले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसदलाई पद मुक्त नगरेको भन्दै एमालेले संसद् अवरुद्ध बनाउँदै आएको छ। संसद् सहज रूपमा सञ्चालनको वातावरण बनाउने छलफल गर्न सभामुख सापकोटाले आज दिउँसो सर्वदलीय बैठक बोलाएका छन्।
भदौ २८, २०७८ सोमबार ११:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।