एनआरएन लफडा : सदस्य छनौटको विवादमा परराष्ट्रको हस्तक्षेप ,निर्वाचन रोक्न पत्र
काठमाडौँ : समन्वय परिषद्को प्रतिनिधि छनौटमा विवाद देखिएको भन्दै परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली सङ्घको निर्वाचन प्रक्रिया रोक्न पत्र पठाएको छ।
परराष्ट्रले एनआरएनए केन्द्रीय समितिलाई निर्वाचन रोक्न पत्र पठाएको हो। पत्रमा प्रतिनिधि छनौटमा देखिएको विवाद समाधान नभएसम्म केन्द्रीय निर्वाचन प्रक्रिया अगाडि नबढाउन भनिएको छ।
अस्ट्रेलिया,जर्मन,अमेरिका,न्युजिल्यान्ड ,बेल्जियम ,साइप्रस ,अस्ट्रिया ,बेलायत ,चेक गणतन्त्र ,स्विडेन र पोर्चुगलको राष्ट्रिय समन्वय परिषद् सदस्यबारे उजुरी परेको परराष्ट्रको पत्रमा उल्लेख छ।
जापानको राष्ट्रिय समन्वय परिषद्को निर्वाचनबारे समेत परराष्ट्रमा उजुरी परेको थियो। सो सम्बन्धमा पत्र पठाए पनि समन्वय परिषद्को पत्रमा सो बारे नखुलाएको पत्रमा उल्लेख छ।
एनआरएनको निर्वाचन सम्बन्धमा एनआरएनका तीन जना सदस्यले निवेदन दिएको र एनआरएनको सबै तहको निर्वाचनलाई निष्पक्ष ,धाँधलीरहित र निष्पक्ष बनाउन भन्दै परराष्ट्रले अनुगमन गर्न समिति नै बनाएको छ।
भदौ २५ मा पठाएको पत्रमा परराष्ट्रले आफ्नो मन्त्रालयको संयोजकत्वमा कानुन र सञ्चार मन्त्रालयको प्रतिनिधिसहितको अनुगमन समिति गठन गरेको र सो समितिको प्रतिवेदन नआएसम्म अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्को निर्वाचन प्रक्रिया रोक्न भनिएको छ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएन)को १० औँ महाधिवेशन आगामी अक्टोबर तेस्रो साता गर्ने तयारी भइरहेको छ।
भदौ २८, २०७८ सोमबार ०९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।