संसद्को गतिरोध खोल्न सभामुखले बोलाए सर्वदलीय बैठक
काठमाडौँ : कारबाहीको सिफारिस गरेको १४ सांसदलाई निष्कासन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् बैठकमा अवरोध गरेपछि सहमति जुटाउन सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक डाकेका छन्।
सरकारले संसद्मा पेलेर आर्थिक अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि संसद्को माहौल थप बिग्रिएको थियो। एमाले सांसदहरूले संसदीय मर्यादा कायम गर्न, पार्टी विभाजनमा सभामुखले नै सघाएको भन्दै विरोध गरिरहेका छन्।
आइतबार संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बैठक मङ्गलवार डाकिएको छ। मंगलवारको बैठकलाई नियमित सञ्चालनको लागि आज सोमवार सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्।
दिउँसो २:३० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा बोलाएको बैठकमा सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं काँग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
भदौ २८, २०७८ सोमबार ०९:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।