एमाले सांसदको फेरियो शैली : न टाउको फुटाउन माइक थुते न मार्सलको जिउमै चढेँ
काठमाडौँ : एमाले सांसदहरूको अवरोधका कारण आइतबार पनि प्रतिनिधि सभाको बैठक नियमित अजेण्डामा प्रवेश गर्न पाएन। एमालेका सांसदहरूले वेल घेराउ गर्दै मुर्दावादको नारा लगाएपछि सभामुख अग्नि प्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेर सहमति खोज्ने प्रयास गरेका थिए।
सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारीसँग संसद्मा जारी अवरोध हटाउनेबारे छलफल गरे।
छलफलमा सरकारका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए। तर छलफलले निकास निकालेन। दोस्रो बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गर्न नछाडेपछि उनले बैठक मङ्गलवारसम्मका लागि स्थगित गरे।
एमाले सांसदहरूले नाराबाजी गरे पनि उनीहरूको प्रस्तुति भने अलि शालीन देखिन्थ्यो आइतबार। मार्सलको घेरा नाघेर सभामुखको आसनतिर जाने, माइक थुतेर सभामुखलाई हान्ने प्रयास गर्ने या मार्सलको जिउँमाथि नै चढ्ने जस्तो अभद्र दृश्य दोहोर्याएनन् उनीहरूले।
वेल अगाडि उभिएर १४ सांसदलाई संसद् बैठकमा प्रवेश नगराउन, संवैधानिक सर्वोच्चता कायम गर्न र पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद भन्दै नारा लगाएका थिए।
आजको बैठक अगाडि प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले संसद्मा अमर्यादित व्यवहार नगर्न निर्देशन दिएका थिए।
भदौ २७, २०७८ आइतबार १९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।