एमसिसीकी उपाध्यक्ष सुमारले भनिन् 'यो संसदबाट पारित हुनैपर्छ, म आशावादी भएर फर्कँदै छु'
काठमाडौँ : नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमारले आफू एमसिसी पारित हुनेमा आशावादी भएर अमेरिका फर्कन लागेको बताएकी छिन्।
चार दिनदेखि नेपालमा रहेकी उनले आइतबार होटेल मेरियटमा पत्रकार सम्मेलन गरेर उनले नेपालले एमसिसी पास गर्नेमा आफू आशावादी रहेको र सकारात्मक भएर वासिङ्टन फर्कन लागेको बताइन्।
उनले नेपाल भ्रमणको क्रममा राजनीतिक दलका नेता, मन्त्री, सांसद र नागरिक समाजका सदस्यहरू भेटेर यो परियोजनाबारे थप स्पष्ट पार्ने प्रयास गरेको र बैठकहरूबाट आफू आशावादी बनेर वासिङ्टन फर्किन्न लागेको बताएकी थिइन्।
'एमसिसीमा हस्ताक्षर भएको चार वर्ष बितिसकेको छ। नेपाललाई सडक र प्रसारण लाइनको विकासका लागि यो सहयोग आधार स्तम्भ हुनसक्छ। यो पास गर्न जति ढिला हुन्छ, नेपालको आर्थिक विकास पनि त्यति नै ढिला हुन्छ,’ उनले पत्रकार सम्मेलनमा भनिन्।
उनले एमसिसी पारित हुनेमा आफू आशावादी रहेको दाबी गरे पनि माहौल एमसिसीको पक्षमा बन्न सकेको छैन। उनले भेटेका प्रमुख प्रतिपक्षी दलका नेतादेखि सत्ताधारी दलका नेतासम्मले यसमा राष्ट्रिय सहमति खोज्नुपर्ने जवाफ दिएको सार्वजनिक भइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी नेपालका लागि आवश्यक भएको बताए पनि यो पारित गर्न थप समय माग गरेका थिए।
समय थप हुने या नहुनेबारे उनले' कुनै समयसीमा नरहेको' बताएकी थिइन्। उनले सम्झौतामा परियोजना लागु हुन संसदबाट पारित हुनु पर्ने उल्लेख भएकाले संसदबाट पारित हुनुपर्नेमा जोड दिएकी थिइन्।
उनले राजनीतिक लाभका लागि केहीले एमसिसीको विरोध गरेको दाबी गरेकी थिइन्। उनले पत्रकार सम्मेलनमा एमसिसी कुनै सैन्य रणनीतिको अङ्ग नभएको दाबी गरेकी थिइन्।
भदौ २७, २०७८ आइतबार १९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।