वैदेशिक रोजगार पत्रकार समाजको १२औँ साधारण सभा सम्पन्न, अध्यक्षमा भट्टराई
काठमाडौंः वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई सर्वसम्मतले चयन भएका छन्। समाजको आज सम्पन्न १२औँ साधारण सभाले आगामी दुई वर्षका लागि भट्टराईको अध्यक्षतामा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे, कोषाध्यक्षमा मनुका कुँवर तथा सदस्यहरूमा अरिश्मा मोक्तान, अमीर लामा, प्रवीण राउत र सुरेन्द्र बजगाईं चयन भएका छन् भने सल्लाहकारहरूमा मदन कुमार श्रेष्ठ, रुद्र खड्का, मधुजङ्ग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन्।
समाजका निवर्तमान अध्यक्ष हरिबहादुर थापाको सभापतित्त्वमा सम्पन्न साधारण सभामा प्रमुख अतिथिका रूपमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, विशिष्ट अतिथिका रूपमा श्रम तथा रोजगार सचिव सुर्यप्रसाद गौतम तथा अतिथिका रूपमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका कार्यवाहक अध्यक्ष राजेन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो।
सो अवसरमा समाजद्वारा प्रकाशित स्मारिका ‘श्रम तथा आप्रवासन’ समेत विमोचन गरिएको थियो।
साधारणसभाको उद्घाटन सत्रमा विशेष अतिथि तथा श्रम सचिव सुर्यप्रसाद गौतमले कोभिडले आर्थिक गतिविधी ठप्प बनाउँदासमेत रेमिट्यान्सकै कारण अर्थतन्त्र चलायमान बनेको भन्दै वैदेशिक रोजगार व्यवसायको क्षेत्रले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले वैदेशिक रोजगारको क्षेत्रलाई सम्मानित, मर्यादित तथा प्रतिष्ठित बनाउन सरकार, निजी क्षेत्र तथा सरोकारवाला निकाय सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा भएका राम्रा र नराम्रा पक्ष औँल्याइदिएर समाजले सदैव मार्गदर्शन गरेकोमा आभार व्यक्त गरे। उनले वैदेशिक रोजगारीमा जाने परिपाटी रोकेर रोक्न नसकिने विषय रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिन सके स्वदेशमै पनि यस्ता जनशक्तिको धेरै खाँचो रहेको बताए।
महासचिव श्रेष्ठले यस कार्यमा सरकारसँग आफूहरू सहकार्यको लागि तयार रहेको समेत बताए।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले वैदेशिक रोजगारको विषयमा कलम चलाउनेहरू ढिलै भए पनि संस्थागत भएको भन्दै खुसी व्यक्त गरे। वैदेशिक रोजगारको क्षेत्र मर्यादित र सम्मानित बनाउन सञ्चारमाध्यमले हरेक कोणबाट औँल्याउनुपर्ने बताउँदै वरिष्ठ उपाध्यक्ष विष्टले यस क्षेत्रमा कलम चलाइरहँदा पहिलो प्राथमिकता र केन्द्रविन्दुमा श्रमिकको हितलाई राख्नुपर्ने तथा व्यवसायीका समस्या पनि उठाउँदै नीति निर्माण तहलाई झकझकाउने काम गर्नुपर्नेमा जोड दिए।
प्रमुख अतिथि तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानिरहेको यर्थाथताका बीच अधिकांश नेपाली रहरले नभइ वाध्यताले वैदेशिक रोजगारीमा जानुपरेको र अब ती नेपालीको सुरक्षाबारे सबै पक्षको ध्यान जान जरुरी रहेको बताए।
उनले श्रम गन्तव्य मुलुकको अवस्था र सुरक्षित रोजगारीको बारेमा वैदेशिक रोजगारीमा जाने कामदारलाई सुसूचित गराउन सके धेरै समस्या हल हुने भन्दै साे भूमिका खेलिदिन सञ्चारकर्मीहरूलाई आग्रह गरे।
भदौ २७, २०७८ आइतबार १६:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।