बेल्जियम जाने खर्च जुटाउन दाजुभाइले अस्पतालमा राखे नक्कली बम
काठमाडौँ : धम्क्याएर तीन करोड रुपैयाँ असुल्ने योजना अनुसार काठमाडौँको पुरानो बानेश्वरमा रहेको मातृका आँखा अस्पतालमा नक्कली बम राखेको खुलेको छ।
अस्पतालमा उपचारका लागि आएका ब्यक्ती को योजनामा चिकित्सकलाई धम्क्याएर रकम माग गरेको र नदिएपछि तर्साउन अस्पतालमा नक्कली बम राखेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले बताए।
प्रहरीले धम्क्याएर रकम असुल्न खोजेको र नक्कली बम राखेको आरोपमा धादिङका २५ वर्षीय आशिष् कुँवर, उनका भाइ अभिषेक कुँवर र होटेल व्यवसायी रोल्पाका ४० वर्षीय अम्बरबहादुर रोकालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको थियो।
सिंहका अनुसार आशिष् कुँवरले अस्पतालका चिकित्सकलाई बारम्बार फोन गरेर पैसा माग्ने गरेका थिए। भदौ २४ गते उनले फोन गरेर तीन करोड रुपैयाँ नदिए अस्पताल र घरमा बम राखी पड्काइदिने भनेर थर्काएका थिए।
उनले सुरक्षित हुन मन छ भने तीन करोड रुपैयाँ लिएर नागढुंगा आउनु भनेर धम्क्याए पनि अस्पतालले पैसा नदिएपछि अस्पतालको रिसेप्सनमा नक्कली बम राखेर तर्साएका थिए। नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज गर्दा नक्कली भएको खुलेको थियो।
अस्पतालमा शल्यक्रियापछि धम्की
एसएसपी सिंहका अनुसार पहिला पक्राउ परेका आशिषले सोही अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गराएका थिए। शल्यक्रियाको क्रममा अस्पतालको प्रशासन र चिकित्सकसँग परिचित भएका उनी निको भएर फर्किएपछि आफ्नै भाइ र अर्का सहयोगीसँग मिलेर पैसा असुल्ने योजना बनाएका थिए।
उनले अस्पतालको चिकित्सकलाई बारम्बार फोन गर्ने र एसएमएस गरेर धम्क्याउने गरेका थिए। जति धम्क्याए पनि पैसा दिन राजी नभएपछि उनीहरूले गत बिहीबार बिहान १० बजेतिर अस्पताल गएर नक्कली बम राखेर हिँडेका थिए।
उनीहरूले अस्पतालको तेस्रो तलामा नक्कली बम राखेर रिसेप्सनमा फोन गरेर सबैलाई बाहिर निस्कन भनेका थिए। तेस्रो तलाको बाथरुममा जाँदा कमोड पछाडि बम जस्तै पदार्थ देखेपछि अस्पताल प्रशासनले प्रहरीमा खबर गरेका थिए।
बम राखेपछि पनि निरन्तर एसएमएस
नक्कली बम राखेर गएपछि उनीहरूले अस्पतालका चिकित्सकलाई निरन्तर एसएमएस गरेर प्रहरीलाई खबर गरेमा चाँडै बम पड्काइदिने भन्दै धम्क्याएका थिए। उनीहरूले रिमोट कन्ट्रोलबाट चल्ने बम राखेको भन्दै घरमा समेत बम राखेको भन्दै तर्साएका थिए।
प्रहरीका अनुसार पक्राउ परेका दुवै दाजुभाइ बेल्जियम जाने तयारीमा थिए। उनीहरूले सहकारीबाट १७ लाख ऋण समेत लिएकाले त्यो तिर्न अस्पताल प्रशासनलाई धम्क्याएको प्रारम्भिक बयानमा दाबी गरेका छन्।
भदौ २७, २०७८ आइतबार १६:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।