आरोपीको दाबी :आमाको बदला लिन मारेको हुँ

आरोपीको दाबी :आमाको बदला लिन मारेको हुँ

काठमाडौँ : रगत लतपतिएको कपडा र हत्यामा प्रयोग भएको हतियारलाई प्रमाण मान्दै प्रहरी संखुवासभामा भएको सामूहिक हत्याको कारण व्यक्तिगत दुस्मनी रहेको निष्कर्षमा पुगेको छ। 

प्रहरीले हत्या आरोपमा २६ वर्षका लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। कार्कीलाई पक्राउको आधार उनको घर नजिक फेला परेको रगत लागेको कपडा र हतियारलाई बनाएको छ। 

अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार लोकबहादुरले ५२ वर्षीय तेजबहादुर कार्कीको मात्र हत्याको योजना बनाएका थिए। सोही अनुसार  गत सोमबार धान गोड्ने खेताला लिन बिहान निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटैमा भेटेर हत्या गरे। 

प्रहरी स्रोतका अनुसार लोकबहादुरको मनमा उनको आमाको मृत्युको कारण कार्की परिवार हो भन्ने गढेको देखिन्छ। 

प्रहरीको दाबी अनुसार प्रारम्भिक बयानमा उनले तेजबहादुरले बेलाबेला वचन लगाउने गरेकाले मार्ने योजना बनाएको तर उनलाई हिर्काउँदा घरका अन्य सदस्यले पनि देखेपछि उनीहरूलाई पनि मारेको बताएका छन्। 

तेजबहादुरलाई हानेको उनको श्रीमती र बुहारीले देखेपछि दुवैको हत्या गरेको, अनि २ जना बच्चालाई पनि हिर्काएर घरमा गएर हजुर आमालाई हिर्काएको उनले बयान दिएका छन्। 

शवको अवस्था हेर्दा लखेटी-लखेटी हत्या गरेको देखिन्छ। 

प्रहरी स्रोतका अनुसार लोकबहादुरको मनमा उनको आमाको मृत्युको कारण कार्की परिवार हो भन्ने गढेको देखिन्छ। 

एक वर्षअघि  उनको आमा लडेर  गम्भीर घाइते भएपछि उपचारका लागि झापा लगे पनि उनी बचिनन्। 

प्रहरी स्रोतका अनुसार उनले एक वर्षदेखि मानसिक रोग सम्बन्धी औषधी समेत खाने गरेको खुलेको छ।

 घटनाको अनुसन्धानमा स्थानीय प्रहरीसँगै केन्द्रबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली समेत गएको थियो। 

घटनाको अनुसन्धानमा संलग्न एसपी भीम दाहालले हत्या आरोपमा लोकबहादुर कार्कीलाई पक्राउ गरिएको र विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने उकेरासँग बताए। 

मादी नगरपालिका–१, खोलागाउँमा गत सोमबार बिहान तेजबहादुरसहित उनको आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो।

भदौ २६, २०७८ शनिबार १५:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।