सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ

सङ्खुवासभाको सामूहिक हत्या प्रकरणमा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ
फाइल फोटो

सङ्खुवासभा : मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा गत सोमबार एकै परिवारको ६ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 सामूहिक हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले २५ वर्षीय छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो।घटनाको अनुसन्धानमा संलग्न सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालले पक्राउ आरोपीलाई आइतबार चैनपुरमा सार्वजनिक गरिने बताए।

 प्रहरीले यसअघि केही व्यक्तिलाई नियन्त्रणमा लिएर  अनुसन्धान गरिरहेको जानकारी दिएका थियो । ढकालले घटनामा संलग्नताको आशङ्कामा हालसम्म एक जना मात्र पक्राउ परेको जानकारी दिए। घटनाको बारेमा सोधपुछ गर्न स्थानीयलाई बोलाउने गरिएको भए पनि अन्यलाई पक्राउ नगरेको उनले जानकारी दिए। पक्राउ परेका व्यक्तिको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दूरीमा रहेको एसपी दाहालले बताए ।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी दाहाल नेतृत्वको टोली र केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) को  टिम परिचाल भएको छ।

मादी नगरपालिका–१, खोला गाउँमा गत सोमबार बिहान स्थित तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जना मृत अवस्थामा भेटिएका थिए। घटनामा तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको हो ।
 

भदौ २६, २०७८ शनिबार ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।