कांग्रेसका युवा नेताद्वारा नेतृत्वको ध्यानाकर्षण

कांग्रेसका युवा नेताद्वारा नेतृत्वको ध्यानाकर्षण

काठमाडौँ : नेपाली काँग्रेसका युवा नेताले महाधिवेशनको सुनिश्चितता गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले पार्टीको क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली यथाशीघ्र प्रकाशित गरी वडा अधिवेशन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । आज एक विज्ञप्ति जारी गर्दै पार्टीको एकसाथ सबै तहका अधिवेशन गर्ने परम्परालाई बिगार्दै अझै २० जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न नसक्नु दुर्भाग्य भएको बताएका छन्।

 काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिका अनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ। सम्पन्न भएकोमा पनि सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पार्टीको एउटा पङ्तीले बहिस्कार गरेर अधिवेशन प्रक्रियामा सहभागी भएको छैन। २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन।

सूची सार्वजनिक नभएका जिल्लामा अधिवेशनको प्रक्रिया पनि प्रारम्भ भएको छैन। यसले देशभर एकै पटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको युवा नेताहरूको भनाइ छ ।

काँग्रेसले  शुक्रवार अधिवेशन तालिका संशोधन गरी स्थानीय तहका अधिवेशनको मिति संशोधन गरेको छ। 

युवा नेता डा चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, गगन थापा, कमला पन्त,  सरिता प्रसाईँ, रत्ना शेरचन,  बद्री पाण्डे,  प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादव, जीवन परियारले विज्ञप्तिमार्फत पार्टीमा समानुपातिक प्रतिनिधित्वको माग सम्बोधन गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

भदौ २६, २०७८ शनिबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।